कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
कुन सामाग्री पुजा गर्ने, साथ कसोरी लाने हो

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
कुन सामाग्री पुजा गर्ने, साथ कसोरी लाने हो

कुन मन्दिरमा जान्छौ यात्री

हाँडहरुको सुन्दर खम्बा, मांसपिंडको दिवार
मस्तिस्कको सुनको छाना, इन्द्रियहरुको द्वार
नसा नदीका, तरल तरंग, मन्दिर आफु अपार

कुन मन्दिरमा जान्छौ यात्री

साथी यात्री, बिच सडकमा, ईश्वर हिड्दछ साथ
चुम्दछ ईश्वर, काम सुनौला, गरिरहेको हात
छुन्छ तिलस्मी, करले उसले, सेवकहरुको माथ

कुन मन्दिरमा जान्छौ यात्री

फर्क फर्क हे, जाऊँ समाऊँ , मानिसहरुको पाऊ
मल्हम लगाऊ, आर्तहरुको, चहराइ रहेको घाऊ
मानिसहरु भई, ईश्वरको, त्यो दिब्य मुहार हँसाऊ

कुन मन्दिरमा जान्छौ यात्री

सडक किनारा, गाउँछ ईश्वर, चराहरुको तानामा
बोल्दछ ईश्वर, मानिसहरुको, पिडा दुखको गानामा
दर्शन किन्तु कहिँ दिदैन चर्म-चक्षुले कानामा

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
कुन सामाग्री पुजा गर्ने, साथ कसरी लाने हो

कुन मन्दिरमा जान्छौ यात्री